आफ्नो भूभागमा भएका नदीका बाढीबारे चीनले सूचना दिएन

nepal and china

काठमाडौं: चीनले आफ्नो भूभागमा भएका नदी र पोखरीको अवस्थाबारे जानकारी नदिँदा भोटेकोसीले ठूलो क्षति गरेको देखिएको छ । गत वर्षको भूकम्पका कारण थुनिएको (बोइकु) भोटेकोसीबारे नेपाल सरकार तथा सरोकारवाला निकायसँग कुनै जानकारी थिएन । चिनियाँ भूउपग्रह तस्बिरअनुसार बोइकुको तिब्बतको न्यालम भन्ने स्थानमा पोखरी फुटेको हो ।   तिब्बत हुँदै नेपालतर्फ बग्ने भोटेकोसी यसअघि नै थुनिएको पत्ता लागेको छ । उक्त पोखरीमा जम्मा भएको पानी फुटेपछि पहिरोका रूपमा बाह्रबिसेसम्म असर देखिएको हो ।

पहिरोका कारण थुनिएर पोखरी भएको भोटेकोसीनजिक दुई दिनअघिको वर्षाले अर्को पहिरो गएपछि बाढी आएको पुष्टि भएको छ । बाढी पूर्वानुमान शाखाका अनुसार बाढी आएको दिन पनि भोटेकोसीमा पानीको सतह घटेको थिएन ।  अहिले गएको पहिरो वा फुटेको पोखरीबारे विस्तृत जानकारी सरकारसँग छैन । चीनबाट नेपालतर्फ बग्ने बाह्रबिसे भोटेकोसी, अरुण, त्रिशूली भोटेकोसी र बूढीगण्डकी मुख्य हुन् । यी नदी थुनिँदा वा हिमताल विस्फोट हुँदा नेपालको तल्लो तटीय क्षेत्रसम्मै असर पुग्छ । विज्ञहरूले यो अन्तरदेशीय विषय भएकाले सोहीअनुसार छलफल अघि बढाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा यसबारे बृहत् छलफलसमेत भइसकेको छ ।

Spread the love