नयाँ आन्दोलन घोषणापछि परिणाम भोग्न तयार हुनुस् – पुष्पकमल दाहाल

prachanda

फाल्गुन १६, काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान बनाउने गल्ती नसच्चिए सम्झौताविहीन आन्दोलन गर्ने चेतावनी दिएका छन् । काठमाडौंको खुलामञ्चमा शनिबार भएको ३० दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले गल्ती नसच्याए परिणाम भोग्न तयार रहन सत्तारुढ दललाई चेतावनी दिए । ‘संविधानसभाभित्र रहेका र बाहिर रहेकालाई पनि सहमतिमा ल्याउन तयार हुनुहोस्, अझै पनि बल तपाईंहरुको कोर्टमा छ,’ दाहालले सत्तारुढ कांग्रेस-एमालेलाई चेतावनी दिए, ‘यदि तपाईंहरुले गल्ती सच्याउनुभएन भने धेरै ढिलो भइसक्छ, अबको आन्दोलन घोषणा भएपछि तपाईंहरुसँग सम्झौताको ठाउँ रहँदैन ।’ दाहालले सहमति र वार्ता विपक्षीले नभई सत्तापक्षले तोडेको उल्लेख गर्दैै समय छँदै गल्ती सच्याउन आग्रह गरे । ‘समय छँदै बहुमत प्रक्रिया खारेज गर्नुस्, रोक्नुस्, संवाद समितिबाटै हल गर्नुस्, वार्ता सजिलै सुरु हुन सक्छ,’ उनको भनाइ थियो, ‘गल्ती सच्याउनु हुन्न, करेक्सन नगर्ने हो भने परिणाम भोग्न तयार हुनुस् ।’

Spread the love