सुरुङ पनि बन्ने सूर्यविनायक-धुलिखेल सडक ८ लेनको बन्दै

८ फागुन, काठमाडौं । १६ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक आठ लेनमा विस्तार हुने भएको छ ।सूर्यविनायक-धुलिखेल सडक अरनीको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाट चीनसँगको तातोपानी नाका जोडिन्छ । उक्त खण्ड विस्तारका लागि जापानले नै प्रारम्भिक अध्ययन गरिरहेको छ । उक्त सडकको पलाँसे-साँगा भञ्ज्याङ खण्डमा सुरुङ पनि निर्माण गर्ने योजना छ ।सुरुङका लागि जापानले ऋण सहयोग दिने वचन दिएको छ । सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता आएको हो ।विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार पलाँसेमा सुरुङ निर्माण सम्बन्धमा यसै साता स्थानीय सरोकारवालासँग छलफल हुँदैछ ।पलाँसेबाट साँगाभञ्ज्याङसम्म साँघुरा घुम्तिहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको योजना बनाइएको हो ।सूर्यविनायक-कोटेश्वर खण्डमा पनि बिना अवरोध ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकियोस् भन्ने उद्देश्यले सुरुङको अध्ययन गरिएको हो। सुरुङमार्ग भने चार लेनको हुनेछ । दायाँ-बायाँ आउने-जाने २/२ लेन तयार गरिने छ । सुरुङको लम्बाइ यकिन भइसकेको छैन । सडक विस्तारको लागत पनि प्रारम्भिक अध्ययनपछि मात्र टुंगो लाग्नेछ ।

 

Spread the love