मध्यजापानमा शक्तिशाली भूकम्प र सुनामी

मध्यजापानमा शक्तिशाली भूकम्प र सुनामी

नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो। सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउँदा केही क्षति भएको छ।

समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्। जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोतो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई  “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोतो क्षेत्रमा पुगेको छ। अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्। ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ। भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन। जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा बनाइयो

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट  ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा बनाएको छ। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ। जनकपुरधाममा  सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका हुन्। कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले  संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन्। प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ।

 

 

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने

काठमाडौँ- पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आज भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । आजै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

साभार : https://nepaltvonline.com/2023/12/86526/?fbclid=IwAR3v7IejY6sxBrzmNNpLzSsP0Q_TFY7PFBqqs_VRWdQVx1X-j_d-VlKmfqE

बडा दशैंको पहिलो दिन, आज घटस्थापना

हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं  आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा  जमरा राख्ने गरिन्छ ।नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थhलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमा जौं रोपिन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकालशक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

विजयादशमीका दिन यसलाई रातो टीकाका साथमा समृद्धिको प्रतीक मानेर पहेंलो जमरा लगाइने गरिन्छ । जौंको जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन जमरा लगाइने गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

 

बकर ईदमा सार्वजनिक विदा

नेपाल सरकारले यहि असार १४ गते बिहीबारको दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदको उपलक्षमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजारका साथै बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने भएका छन्।

गुप्तेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

 काठमाडौं । काठमाडौं टोखा नगरपालिका – १ झोर महाँकाल, फुलबारी घोप्टे पहरोमा अवस्थित गुप्तेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । गुप्तेश्वर महादेव मन्दिरको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले जेठ ९ गते (मंगलबार) बाट महायज्ञ सुरु भएको हो । उक्त महायज्ञ जेठ १७ गतेसम्म लाग्ने आयोजक मूल समितिका अध्यक्ष सहदेव तिवारीले बताए । महायज्ञमा श्रद्धेय भागवत कथा व्यास युवा पण्डित आर्चाय सर्वेश्वर शरण सुवेदीको मुखारविन्दबाट कथा वाचन हुने तथा उपवाचक पण्डित सविन शाश्वत लामिछानेको सुमधुर मुखारविन्दबाट पाठ पारायण हुनेछ । सो महायज्ञमा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षणका निम्ति २०७१ सालदेखि वार्षिक रुपमा बजेट विनियोजन गरि यस मन्दिरसम्म पुग्नका लागि सिँडी रेलिङ र विश्राम कक्ष निर्माण गरिएको छ । यो मन्दिर प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको भन्दै समितिले संरक्षण र पर्यटन प्रवद्र्धनका लागि यो महायज्ञको आयोजना गरिएको हो ।

टोखा न पा १ मा गणेश मन्दिरको उद्घाटन

काठमाडौ उपत्यकाको उत्तरी क्षेत्र मा पर्ने टोखा नगरपालिका १ नम्बर वडामा  आज गणेश मन्दिरको उद्घाटन सम्पन्न भएको छ । पुरानो धार्मिक महत्व राख्दै आएको यस मन्दिरको पूर्ण   रुप निर्माण सम्पन्न भएको छ । उक्त मन्दिर उद्घाटनको लागि टोखा नगरपालिकाका  नगर प्रमुख प्रकाश अधिकारी उपस्थिति हुनु भएको थियो । उक्त मन्दिरमा गुरुवाचार्य   द्वारा पूजा पाठ विधि  होमद्वारा नयाँ मन्दिरमा प्राण प्रतिस्थापन गरी उद्घाटन सम्पन्न भयाे।

उक्त गणेश मन्दिरको लागि टोखा न.पा.का को तर्फबाट १२,००,०००/- सहयोग प्राप्त भएको छ भने  उपभोक्ता समितिको तर्फबाट ५ लाख रुपैयाँ गरी २१ लाखमा काम सक्ने योजना रहेको छ।   उद्घाटन  समारोहमा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले  यसप्रकारको नगरपालिकाअन्तर्गत पर्ने सम्पूर्ण धार्मिक मठ-मन्दिर हरूको आ-आफ्नै महत्व रहेको कुरा बताउनुभयो भने नजिकै रहेका श्री भुवनेश्वर गुप्तेश्वर  जलेश्वर लगाएत ऐतिहासिक महत्व बोकेको सपना तसर्थ गणेश मन्दिरको  धार्मिक  चर्चा गर्नुभयो ।

 

 

 

स्वस्थानी व्रत एवं माघस्‍नान आजदेखि सुरु

स्वस्थानी व्रत एवं माघस्‍नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । स्वतानी व्रत अवधिभर भगवान शिव अर्थात महादेशवको पूजा आराधना गरिन्छ ।  बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र त्यो मनोकामना पूरा भएको विश्वासमा व्रतकथा र माघ स्‍नानको प्रचलन रहेको विश्वास गरिन्छ । स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । शालिनदी व्रतालुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरेर व्रत बस्न दिइएको छ ।

चोभारमा विश्वकर्मा विसर्जन

१ असोज, काठमाडौँ : हिजो पूजा गरिएको प्रतिमालाई शनिबार नदीमा बगाएर विसर्जन  गरिएको छ ।  शनिबार वर्कसप तथा कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको विशेष पूजा गर्ने प्रचलन छ ।  आश्विन सङ्क्रान्तिका दिन मनाइएको विश्वकर्मा पूजा  शनिबार बिसर्जन गरिएको छ । विश्वकर्मा पूजा गर्नेहरुको एक समूहले विश्वकर्मा भगवानको प्रतिमा चोभारमा बागमती नदीमा विसर्जन गरेका छन् ।

पशुपतिनाथ दर्शनमा रोक – पशुपति क्षेत्र विकास कोष

काठमाडौँ  :  पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ । नेपालमा विगत २४ घण्टामा थप २,४२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,३६५ जना र एन्टिजन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले पशुपति क्षेत्र विकास कोषले सूचना प्रकाशित गरिएको छ । भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ ।